११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

बाढीले एक दर्जन जलविद्युत् आयोजनाको विद्युत् उत्पादन प्रभावित



काठमाडौँ । निरन्तरको वर्षासँगै आएको बाढीको प्रभाव स्वरूप शनिबार करिब एक दर्जन जलविद्युत् आयोजनाको विद्युत् उत्पादन प्रभावित भएको छ । शुक्रबारदेखि परेको वर्षा शनिबार रातिसम्म कायम रहेकाले कतिपय जलविद्युत् आयोजना सञ्चालनमा आउन नसकेका र कतिपय नदीमा जलप्रवाहको अवस्था हेरी सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

शनिबार बिहानैदेखि ६४० मेगावाट जलविद्युत् उत्पादन बन्द भएको थियो । नदीमा ठुलो बाढी आउँदा ल्याउने ढुङ्गा, रुखलगायतका ठुला गेग्य्रानले सुरुङ तथा पावरहाउसलगायतका संवेदनशील संरचनामा क्षति पुग्ने भएकाले विद्युत् आयोजनाहरू अल्पकालीन रूपमा बन्द गर्ने गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
बन्द गरिएको ६० मेगावाटको माथि त्रिशूली थ्री ‘ए’ २१ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना पनि शनिबार दिउँसोबाटै सुचारु भएको छ । १० मेगावाटको सुनकोशी जलविद्युत् आयोजनाबाट पनि विद्युत् उत्पादन बन्द भएको थियो । कालीगण्डकी जलविद्युत् आयोजना पनि शनिबार साँझ पुनः बन्द गरिएको थियो । त्यस्तैगरी निजी क्षेत्रतर्फ ३६ मेगावाटको बलेफी, २० मेगावाटको तल्लो मोदी, १८ मेगावाटको मध्य मोदी र ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन बन्द भएको थियो ।

यस्तै बाढीकै कारण ५० मेगावाटको सोलु दुधकोशी, ४७ मेगावाटको लिखु एक, २९ मेगावाटको लिखु दुई, ३८ मेगावाटको मध्य तमोर, ६० मेगावाटको कालिगण्डकी ‘ए’, सात मेगावाटको मोदी, छ मेगावाटको त्रिशूली, पाँच मेगावाटको देवीघाट र १४ मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको बिजुली उत्पादन आंशिक रूपमा प्रभावित भएका थिए ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १० : ३७ बजे