२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कांग्रेसले दियो ३३० क्षेत्रीय सभापतिलाई प्रशिक्षण



रुपन्देही । नेपाली काँग्रेसले देशभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति र उपसभापतिलाई विभिन्न विषयमा केन्द्रित गरेर प्रशिक्षण दिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवासहित पार्टी पदाधिकारी, पूर्व पदाधिकारी, सरकारमा सहभागी मन्त्रीको सहभागितामा भएको कार्यक्रममा पार्टीको नीति, सङ्गठन, सदस्यता अभियान, समसामयिक मुद्दासहित आर्थिक, सामाजिक र राजनीतिक विषयसहित पार्टीको आगामी यात्राका विषयमा प्रशिक्षण दिइएको हो ।

कांग्रेसको केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित प्रशिक्षणमा पार्टीका महामन्त्रीद्वय गगन कुमार थापा, विश्वप्रकाश शर्मासहित ६ जना विज्ञले विभिन्न विषयमा प्रशिक्षण दिएका छन् ।

क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति र उपसभापति सहित ३ सय ३० बढी नेता कार्यकर्ताहरू सहभागी कार्यक्रममा महामन्त्री थापाले पार्टी सङ्गठन, सदस्यता अभियान, केन्द्र र प्रदेशबीचको अन्तरसम्बन्धका विषयमा प्रशिक्षण दिएको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ का सभापति सुशील गुरुङले जानकारी दिउ । सबै गरि जम्मा ५ सय ५० भन्दा बढी नेता कार्यकर्ताको उपस्थिति रहेको गुरुङले बताए ।

प्रशिक्षण दिँदै महामन्त्री थापाले पार्टीलाई थप बलियो र सशक्त बनाउन सङ्गठन विस्तारसहित सदस्यता नवीकरणमा खटिन सबैलाई आग्रह गरे ।

त्यस्तै अर्का महामन्त्री शर्माले वर्तमान सन्दर्भमा समसामयिक मुद्वाहरुका विषयमा प्रशिक्षण दिएका छन् । प्रशिक्षणमा क्रममा उनले नेपाली काँग्रेसले गरेका राम्रा काम, सरकारमा सहभागी मन्त्रीहरूले गरेका राम्रा कामका विषयमा नागरिकमाझ लैजान नसकिएको बताए। काँग्रेसले गरेका काम मात्रै पनि नागरिकस्तरमा पुर्‍याउन सके पार्टीप्रति नागरिकको आशा र भरोसा बढ्दै जाने र निर्वाचनमा पार्टीलाई ठुलो सहयोग पुग्ने उनको तर्क छ ।

कार्यक्रममा कांग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा। बुद्धिमान श्रेष्ठले नेपालमा सङ्घीयता कार्यान्वयनको अवस्था र कांग्रेसको दायित्वका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै प्रतिष्ठानका सदस्य विश्वदीप लामिछानेले कांग्रेसको सङ्गठन विस्तारमा प्रविधिको प्रयोग र प्रभावका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । पछिल्लो समय नेपाली काँग्रेसले प्रविधिलाई पछ्याउँदै आएको उल्लेख गर्दै सदस्य लामिछानेले यसको प्रयोग प्रशिक्षण कार्यक्रममा पनि गरिएको बताए ।

प्रतिष्ठानका अर्का सदस्य डा। कृष्णप्रसाद पौडेलले कांग्रेसको नेतृत्वमा भएका आर्थिक, सामाजिक विकास तथा तहगत सङ्गठनका विषयमा कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा प्रतिष्ठानका निर्देशक डा। जगदीशचन्द्र पोखरेलले लोकतान्त्रिक समाजवाद, कांग्रेसका आर्थिक नीति र अभ्यासका विषयमा कार्यपत्र प्रस्तुत गरे ।

कार्यक्रम अन्तरगत मङ्गलवार समूह विभाजन गरी सोमबार प्रस्तुत गरिएका विषयहरू सम्बन्धमा छलफल गरी प्रतिवेदन तयार पार्ने, क्षेत्रीय पार्टी सङ्गठन एवं प्रशिक्षणसँग सम्बन्धित समस्या लगायतका विषयमा छलफल तथा समाधानसहितको सुझाव प्रतिवेदन तयार पारिने कांग्रेस उपसभापति एवं प्रतिष्ठानका प्रमुख पूर्ण बहादुर खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १० : ५६ बजे