२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

पोखरामा भाइटीका महोत्सव



कास्की । होटेल संघ पोखरा नेपालद्वारा तिहारको अवसरमा बिहीबार (कात्तिक ६) लेकसाइडमा आयोजित १८औँ भाइटीका महोत्सवमा १०० भन्दा बढी पर्यटकले सहभागिता जनाएका छन् । महोत्सवमा १५ भन्दा बढी देशका पर्यटकले भाइटीका लगाएका संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

संघले पोखरा र सिंगो नेपालको पर्यटन प्रवर्द्धन र संस्कृतिको संरक्षणका निम्ति विविध महोत्सव आयोजना गर्दै आएको उनले उल्लेख गरे । उनले यसपालि भाइटीका महोत्सवमा पर्यटकको उल्लेख्य सहभागिताका कारण विशेष बन्न पुगेको बताए ।

महोत्सवमा रेन्वो चिल्ड्रेन होमका छात्राले पर्यटकलाई टीका लगाइदिएका थिए । सहभागी पर्यटकलाई नेपाली ढाकाटोपी र पछ्यौरा उपहार प्रदान गरिएको थियो । पर्यटकले सेलरोटीलगायत नेपाली परिकार खानुका साथै देउसीभैलो पनि खेलेका थिए ।

सप्तरंगी टीका लगाएका पर्यटक नौलो अनुभव लिन पाएको भन्दै दंग थिए । अस्ट्रेलियाकी पर्यटक एनीले आफू धेरैपटक नेपाल आएको र यसपालि टीका लगाउन पाउँदा हर्षित भएको प्रतिक्रिया दिइन् । नेपाल सांस्कृतिक रूपमा धनी रहेको र नेपालीको अतिथि सत्कारबाट आफू प्रभावित भएको उनको भनाइ थियो ।

पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष सुवेदीले बताए । पछिल्लो समय देशको विषम परिस्थितिका कारण पर्यटन क्षेत्र समेत प्रभावित भएको उनले उल्लेख गरे । महोत्सवले पर्यटनलाई पुरानै लयमा फर्काउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे । रासस

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ११ : ५४ बजे