काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता अभाव देखिएको खाना पकाउने एलपी ग्यासको बिक्री वितरण विस्तारै सहज हुन थालेको छ । गत असार ३१ गतेदेखि १४.२ किलोग्राम ग्यास भएको सिलिन्डर बिक्री गर्न थालेपछि एक्कासी अभावजस्तो देखिए पनि साविकको तुलनामा भारतबाट आयातको परिमाण निरन्तर वृद्धि र वितरण प्रक्रियालाई चुस्त बनाइएसँगै ग्यासको अभाव कम हुँदै गएको निगमले जनाएको छ ।
निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले १४.२ किलो ग्यास बिक्री गर्न थालिएपछि सुरुआती दिनमा केही समस्या देखिए पनि अहिले कम हुँदै गएको बताउनुभयो । “उपभोक्तालाई मागअनुसारको ग्यास उपलब्ध गराउने उद्देश्यले आपूर्ति बढाइएको छ, यसका लागि इन्डियन आयल कर्पोरेसनले पनि सहयोग गरेको छ”, उहाँले भन्नुभयो । ग्यासको आपूर्तिमा कुनै समस्या नरहेको भन्दै उहाँले अनाश्वयक ग्यासको भण्डारण नगर्न आमउपभोक्तालाई आग्रह समेत गर्नुभयो ।
“अहिले पनि आइओसीको रिफाइनरीबाट दैनिक १०० भन्दा बढी बुलेट लोडिङ भएर आइरहेको छ, ७.१ किलोबाट १४.२ किलोमा ‘सिफ्ट’ हुँदा केही समस्या देखिएको हो, बढीमा एक सातामा ग्यासको बिक्री वितरण सामान्य हुन्छ”, निर्देशक उपाध्यायले भन्नुभयो । पश्चिम एसियामा विकसित परिस्थितिलाई दृष्टिगत गर्दै निगमले ग्यासको आपूर्ति र वितरणलाई व्यवस्थित बनाउन गत फागुन २९ गतेदेखि ७.१ किलो ग्यास भरिएको सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको थियो ।
यता नियमले उपलब्ध गराएको तथ्याकमा पनि हाल ग्यासको आयात निरन्तर वृद्धि भइरहेको देखिएको छ । गत आवको साउनमा ४४ हजार ३१८ मेट्रिक टन ग्यास आयात भएको तथ्याङ्क छ । पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ । यस आधारमा चालु आवको साउनमा करिब ५५ हजार मेट्रिक टन ग्यास आयात हुने अनुमान गरिएको छ ।
अघिल्लो वर्षको तुलनामा नियमित माग धान्नसक्ने परिमाणमै ग्यास आयात भए पनि बीचमा आधा सिलिन्डर दिइँदै आएकामा पूर्ण सिलिन्डर उपलब्ध गराउन थालिएपछि बजारमा माग र आपूर्तिको असन्तुलन भएको निगमका निर्देशक साहको भनाइ छ । नेपालमा हाल ५८ एलपी ग्यास उद्योग सञ्चालनमा रहेका छन् । ती उद्योगमा १० हजार १६६ मेट्रिक टन भण्डारण र दैनिक एक करोड ७५ लाख सिलिन्डर दैनिक फिलिङ क्षमता रहेको छ । बजारमा कृतिम अभाव सिर्जना गरेर ग्यास नपाएको उपभोक्ताको गुनासो आएपछि निगमले क्विक रेस्पोन्स टिम गठन गरि नागरिकका गनासोहरु गरेको थियो । निगममा गठन गरिएको क्विक रेस्पोन्स टिमले ग्यास नपाएको भन्ने उपभोक्ताका ५०० बढी गुनासोलाई सम्बोधन गरिसकेको निगमले दाबी गरेको छ ।





