काठमाडौं । नेपाली कांग्रेस चन्द्रागिरि नगर कार्यसमितिको नेतृत्व चयनका लागि निर्वाचनको तयारी भइरहेका बेला अन्तिम समयमा नयाँ राजनीतिक सहमतिको प्रयास अघि बढेको छ। क्षेत्र नम्बर ९ बाट नगर सभापति र क्षेत्र नम्बर १० लाई बाँकी पद तथा जिम्मेवारी दिने गरी सहमतिको प्रयास भइरहेको जनाइएको छ।
नगर सभापतिसहित पदाधिकारी चयनका लागि उम्मेदवारी दर्ता भइसकेको अवस्थामा दुई क्षेत्रबीच शक्ति सन्तुलन मिलाउने गरी यस्तो सहमतिको प्रयास भएको हो। सहमति कार्यान्वयन भएमा नगर नेतृत्व चयनका लागि हुने भनिएको निर्वाचनको समीकरणसमेत परिवर्तन हुनसक्ने देखिएको छ।
चन्द्रागिरि नगर कांग्रेसमा यसअघि नगर सभापतिका लागि राजेन्द्रविक्रम बानियाँ र कृष्णप्रसाद शाही खड्गीबीच मुख्य प्रतिस्पर्धा हुने चर्चा थियो। बानियाँले यसअघि कार्यवाहक नगर सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन् भने खड्गीले वडा तहको नेतृत्वसँगै नगर प्रवक्ताको जिम्मेवारी निर्वाह गरिसकेका छन्। उद्यपी बानियाले उम्मेद्वारी फिर्ता लिइसकेको छन् । सभापति पदमा कृष्णप्रसाद खड्गी, राजेन्द्रविक्रम बानियाँ, प्रकाश श्रेष्ठ, रामेश्वर श्रेष्ठ, राजेन्द्र महर्जनले उम्मेद्वारी दिएका थिए ।
तर पछिल्लो सहमतिको प्रयासले नगर सभापतिको प्रतिस्पर्धालाई नयाँ मोडमा पुर्याएको छ। क्षेत्र नम्बर ९ का उम्मेदवारलाई नगर सभापति बनाउने र क्षेत्र नम्बर १० का पक्षलाई नगर कार्यसमितिका अन्य महत्वपूर्ण पद तथा जिम्मेवारीमा समेट्ने गरी छलफल अघि बढेको बताइएको छ।
कांग्रेसभित्र निर्वाचनभन्दा सहमतिमार्फत नेतृत्व चयन गर्नुपर्ने आवाज पनि उठ्दै आएको छ। वडा अधिवेशनकै क्रममा चन्द्रागिरिका विभिन्न वडामा सहमतिमार्फत नेतृत्व तथा क्षेत्रीय प्रतिनिधि चयन भएका थिए।
यद्यपि नगर सभापतिसहितका पदमा उम्मेदवारी दर्ता भइसकेकाले सहमति अन्तिम रूप लिन उम्मेदवार तथा दुवै पक्षबीचको समझदारी निर्णायक हुने देखिएको छ। सहमति कायम हुन नसकेमा यसअघि तय भएको निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन हुनेछ।
चन्द्रागिरि कांग्रेसको नगर अधिवेशनमा वडा तहबाट निर्वाचित ३८७ जना प्रतिनिधि सहभागी हुँदैछन्। यही प्रतिनिधिको मतबाट नगरको आगामी नेतृत्व चयन हुने भएकाले सहमतिको प्रयास सफल हुन्छ वा निर्वाचनमै जाने अवस्था आउँछ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।
आगामी स्थानीय तह निर्वाचनलाई समेत ध्यानमा राखेर भइरहेको यो नेतृत्व चयनले चन्द्रागिरि कांग्रेसको आगामी संगठनात्मक दिशा निर्धारण गर्नेछ। निर्वाचनको मुखमा विकसित भएको नयाँ सहमतिको प्रयास सफल भए चन्द्रागिरि कांग्रेसमा शक्ति सन्तुलनसहितको नेतृत्व निर्माण हुने सम्भावना देखिएको छ





