काठमाडौं । जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार राति (असोज ८) ८ बजेदेखि शुक्रबार बिहान (असोज ९) ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द गर्ने निर्णय गरेको छ ।
कार्यालयले बिहीबार सूचना जारी गर्दै उक्त समयमा पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमनमा पूर्ण रूपमा रोक लगाइएको जनाएको हो ।
हाल मौसममा आएको परिवर्तनका कारण धादिङ जिल्ला र आसपासका क्षेत्रमा हाल निरन्तर वर्षा भइरहेको र आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको कार्यालयले जनाएको छ ।
यसबाट बाढी, पहिरो, डुबान लगायतका विपद्जन्य जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न पृथ्वी राजमार्ग बन्द गर्ने निर्णय भएको कार्यालयले स्पष्ट पारेको छ ।






