९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026

चन्द्रागिरि कांग्रेसमा सभापतिका लागि ७ जनाको उम्मेदवारी, बानियाँ र खड्गीबीच मुख्य प्रतिस्पर्धा



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चन्द्रागिरि नगर कार्यसमितिको नेतृत्व चयनका लागि गरिएको सहमतिको प्रयास निष्कर्षमा पुग्न नसकेपछि आज निर्वाचन हुने भएको छ। नगर सभापतिसहितका पदाधिकारी चयनका लागि आज दिउँसो २ बजे मतदान हुने तयारी गरिएको छ।

चन्द्रागिरि नगर कार्यसमितिको सभापति चयनका लागि ७ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। सभापतिका लागि प्रकाश श्रेष्ठ, रमेश सुबेदी, रामेश्वर श्रेष्ठ, राजेन्द्र महर्जन, राजेन्द्रविक्रम बानियाँ र कृष्णप्रसाद शाही खड्गीलगायतका उम्मेदवार मैदानमा छन्।

उम्मेदवारी दर्तासँगै नगर सभापतिको प्रतिस्पर्धा थप रोचक बनेको छ। आकांक्षीमध्ये राजेन्द्रविक्रम बानियाँ र कृष्णप्रसाद शाही खड्गीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। अन्य केही उम्मेदवारीलाई भने प्रतिस्पर्धाको मूल समीकरणभन्दा बाहिरका तथा ‘डमी उम्मेदवार’का रूपमा समेत टिप्पणी हुन थालेको छ। यद्यपि अन्तिम परिणाम प्रतिनिधिको मतदानबाटै तय हुनेछ।

संगठनात्मक अनुभवमा बानियाँ, जनप्रतिनिधिको भूमिकामा खड्गी

बानियाँले यसअघि कार्यवाहक नगर सभापतिको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्। नगर संगठन सञ्चालनको अनुभव, कार्यकर्तासँगको निरन्तर सम्पर्क र पार्टीको आन्तरिक संरचनामा लामो समयदेखि सक्रिय रहँदै आएका कारण उनको उम्मेदवारीलाई गम्भीर रूपमा हेरिएको छ।

अर्कोतर्फ कृष्णप्रसाद शाही खड्गी जनप्रतिनिधिका रूपमा हासिल गरेको अनुभवका आधारमा मैदानमा छन्। खड्गीले दुई कार्यकाल वडा अध्यक्षको जिम्मेवारी सम्हालेको र नगर प्रवक्ताका रूपमा समेत भूमिका निर्वाह गरेको अनुभव छ । नगरको राजनीतिक तथा संगठनात्मक ‘ग्राउण्ड’ बुझेका खड्कीले स्थानीय तहबाट भएका विकास तथा असल अभ्यासलाई प्रचारात्मक रूपमा अघि बढाउन भूमिका खेल्दै आएका छन्। त्यस्तै उनले स्थानीय तहमा निर्वाचित भएर काम गरेको अनुभवलाई उनले पार्टी संगठनसँग जोडेर अघि बढाउने एजेन्डा अघि सारेका छन्। यस क्रममा नयाँ पुस्तालाई पार्टीको संरचनामा थप सक्रिय रूपमा ल्याउने, युवालाई नेतृत्व र जिम्मेवारीमा अवसर दिने तथा संगठनलाई पुस्तान्तरणसहित अघि बढाउने विषयलाई उनले जोड दिँदै आएका छन्।

चन्द्रागिरि नगर कांग्रेसको नेतृत्व चयनका लागि वडा अधिवेशनबाट निर्वाचित ३८७ जना प्रतिनिधि मतदानमा सहभागी हुँदैछन्।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  १ : २८ बजे