पोखरा । यस वर्ष गण्डकी प्रदेशका नौ जिल्लामा डेंगीको सङ्क्रमण देखिएको छ । गत मंगलबारसम्म ८३९ जनामा सङ्क्रमण पुष्टि भएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ ।
सबैभन्दा बढी बागलुङमा ३६६, कास्कीमा २२२, गोरखामा ९९, तनहुँ ६४, म्याग्दी ३३, पर्वत २१, लमजुङ १७, स्याङ्जा १३ र नवलपुरमा चार जनामा डेंगी संक्रमण पुष्टि भएको हो ।
हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा अहिलेसम्म डेंगी संक्रमित नभेटिएको केन्द्रका जनस्वास्थ्य अधिकृत पार्वती ढुंगानाले बताइन् । अधिकांश डेंगी संक्रमित बागलुङ नगरपालिका र पोखरा महानगरपालिकामा रहेको उनको भनाइ छ।
बागलुङ नगरपालिकामा ३५९ र पोखरा महानगरपालिकामा २१३ जनामा संक्रमण देखिएको हो । प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका प्रमुख प्रवीण शर्माले डेंगी संक्रमण रोक्न ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको बताए ।





