काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले पार्टीको संसदीय दलको विधानलाई समयानुकूल बनाउन प्रमुख सचेतकको संयोजकत्वमा विधान संशोधन कार्यदल गठन गरेको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए ।
उक्त कार्यदललाई सात दिनभित्र प्रतिवेदन तथा कार्यविधि तयार गर्ने जिम्मेवारी दिइएको छ । संशोधित विधानमार्फत सांसदहरूलाई सदनमा उपस्थित हुँदा मर्यादा पालना गराउने, आ–आफ्ना जिम्मेवारी स्पष्ट पार्ने, जनपक्षीय आवाजलाई बुलन्द बनाउने र कानुन निर्माण प्रक्रियामा थप सक्रिय बनाउने उद्देश्य राखिएको उनले बताए ।
बैठकमा मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयबाट भए–गरेका प्रगति विवरण र गतिविधिहरू बैठकमा राखेका थिए । साथै, सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका समस्या, जनताबाट प्राप्त गुनासाहरू र सरकारका कामका कमजोरी औँल्याएका थिए ।





