काठमाडौं । बलात्कारपछि हत्या गरिएकी गरिमा चौधरीलाई ‘न्याय’ माग्दै स्वतन्त्र आमा नेपालको अगुवाइमा शनिबार (भदौ ६) काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । दोषीलाई कडा कारबाही र पीडितलाई ‘न्याय’को माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा सहभागीले बलात्कार र हत्याजस्ता जघन्य अपराधविरुद्ध कडा कानुन बनाउन सरकारसँग माग गरे । बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने उनीहरूको माग छ ।
प्रदर्शनकारीले ‘बलात्कारी र हत्यारालाई कडा कानुनी कारबाही गर’ ‘पीडितलाई न्याय देऊ’, ‘बलात्कारीलाई फाँसी दे’, ‘चाहिँदैन ठूला र चिल्ला सडक, छोरीलाई सुरक्षित हिँड्न सक्ने गल्ली बनाइदेऊ सरकार’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमाको बलात्कारपछि हत्या गरिएको थियो । गएको साउन ३१ गते हराएकी उनी भदौ २ मा एउटा घरभित्र मृत फेला परेकी थिइन् ।
घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





