१० मंसिर २०८३, बुधबार | Wed Nov 25 2026

आइजिपी विवादमा आज सुनुवाइ हुने



काठमाडौ । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक विवादसम्बन्धी रिटमा सर्वोच्च अदालतले मङ्सिर ९ गते सुनुवाइ गर्ने भएको छ । सोमबारका लागि पेसी तोकिए पनि नवनियुक्त प्रहरी महानिरीक्षक डा.मनोजकुमार केसीका तर्फबाट म्याद बुझ्न बाँकी रहेकाले अदालतले म्याद बुझाई मुद्दा पेसको आदेश गरेको हो । म्यादबारे अदालतका तामेलदारको प्रतिवेदन र केसी पक्षका कानुन व्यवसायीको धारणापछि इजलासले म्याद बुझाई मुद्दा पुनः पेसको आदेश गरेको हो ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले यसअघि मङ्सिर ४ गते जारी भएको म्याद बुझाई पेस गर्न आदेश गरेको हो ।

सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएर केसीलाई प्रहरी प्रमुख नियुक्त गरेपछि विवाद अदालतमा प्रवेश गराइएको हो । कार्कीले आफूलाई पूर्ववत् पदमै फर्काउन आदेश माग गरेर कात्तिक २० गते सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो । रिटमा मङ्सिर २ गते सर्वोच्चको एकल इजलासले दुवै पक्षलाई छलफलमा झिकाउने आदेश गरेको थियो । इजलासको आदेश अनुसार सोमबार दुवै पक्षलाई छलफलमा झिकाइए पनि पुनः म्याद बुझाउने आदेश संयुक्त इजलासले गरेको हो ।

प्रकाशित मिति : १० मंसिर २०८३, बुधबार  ९ : ३० बजे