१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

बाढीपछिको पुनर्निर्माणमा ६ अर्ब जुटाउँदै वाग्मती सरकार, मन्त्रालयको बजेट कटौतीमा



काठमाडौं । भोटेकोसी बाढीले क्षति पुर्‍याएका क्षेत्रको पुनर्निर्माण र प्रभावित नागरिकको पुनर्स्थापनालाई प्राथमिकतामा राख्दै वाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट पुनः प्राथमिकीकरण गर्ने भएको छ ।

वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भौतिक संरचनाको पुनर्निर्माणमा मात्र सीमित नभई प्रभावित नागरिकको आवास, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक गतिविधि र सामाजिक जीवनलाई सामान्य अवस्थामा फर्काउने गरी ६ अर्ब रुपैयाँ खर्च गरिने बताएका छन् ।

ल्हेन्दे भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि प्रदेश सरकारले ६ अर्ब रुपैयाँ जुटाउने तयारी गरेको हो । त्यसका लागि चालु आर्थिक वर्ष २०८३/८४ मा विनियोजित बजेटबाट केही कार्यक्रम कटौती गरिने भएको छ ।

प्रदेश सुशासन केन्द्र, जावलाखेलमा गत सोमबार बसेको समन्वय बैठकले ६ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गर्ने निर्णय गरेको थियो । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार, पुँजीगततर्फ अग्रिम दायित्व सिर्जना नभएका कार्यक्रमबाट बजेट कटौती गरिनेछ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय तथा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको बजेटमा २० प्रतिशत कटौती गर्ने तयारी छ । त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अन्य ६ मन्त्रालयका कार्यक्रमबाट १५ प्रतिशत बजेट कटौती गरिनेछ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता उपसचिव नुमानन्द अधिकारीका अनुसार कृषि र स्वास्थ्य मन्त्रालयबाहेक अन्य मन्त्रालयले बजेट कटौतीका लागि कार्यक्रम विवरण सिफारिस गरिसकेका छन् ।

बजेट कटौती गर्दा स्रोत सहमति भइसकेका आयोजना तथा चालु खर्चलाई भने यथावत् राखिनेछ । दायित्व सिर्जना नभएका कार्यक्रमबाट मात्रै बजेट व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको अधिकारीले बताएका छन् ।

वागमती सरकारले चालु आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको थियो । त्यसमध्ये चालुतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार र पुँजीगततर्फ ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शुक्रबार  ११ : ५३ बजे