११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तारको सम्भावना बढ्यो



रूपन्देही । नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ (बी–३४५) हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएपछि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तारको सम्भावना बढेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको सहमतिले भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालनमा देखिएको हवाई मार्गसम्बन्धी अवरोध हटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले यसलाई लुम्बिनी क्षेत्रको आर्थिक विकासका लागि सकारात्मक उपलब्धि बताउनुभयो । उहाँका अनुसार उडान विस्तारले पर्यटन, उद्योग, व्यापार तथा होटल व्यवसायलाई गति दिनेछ ।

त्यस्तै, नाट्टाका पूर्वअध्यक्ष सागर अधिकारीले भारतका विभिन्न सहरबाट पर्यटकलाई भैरहवा हुँदै लुम्बिनी ल्याउन सहज हुने बताउनुभयो । लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक सुरज घिमिरेले भारतका बोधगया, सारनाथ, कुशीनगर र श्रावस्तीजस्ता बौद्धस्थलसँग लुम्बिनीलाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गर्न सकिने बताउनुभयो ।

यद्यपि सहमति कार्यान्वयनका लागि प्राविधिक प्रक्रिया र आवश्यक व्यवस्थापन मिलाउन बाँकी छ । नियमित उडान तत्कालै सुरु हुने निश्चित नभए पनि सहमति कार्यान्वयन भए गौतमबुद्ध विमानस्थलको उपयोगिता बढ्नुका साथै लुम्बिनी क्षेत्रको पर्यटन र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८३, बिहिबार  ९ : ५३ बजे