९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार : नगर प्रमुखसहित नौ जनाविरुद्ध मुद्दा



काठमाडौं । धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन प्रमुख उदयकुमार यादवसहित नौ जनाविरुद्ध झण्डै १४ लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार स्यानिटरी प्याड खरिदमा झुटा विवरण तयार पारेको खुलेपछि नगर प्रमुखसहित नौ जनाविरुद्ध १३ लाख ९३ हजार ६८७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको हो।

आर्थिक वर्ष २०७७र७८ मा स्यानिटरी प्याड खरिदमा झुट्टा विवरण एवम् सूचना तयार गरी गलत कागजातको आधारमा यादवसहित नौ जनाविरुद्ध बदनियतपूर्ण ढङ्गले खरिद सम्झौता एवम् १३ लाख ९३ हजार ६८७ रुपियाँ भुक्तानी दिने कार्य गरी भ्रष्टाचार गरेको आरोप लागेको हो ।

तत्कालीन नगर उपप्रमुख शिला देवी कापर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शत्रुघन यादव, तत्कालीन लेखापाल लोकबहादुर नेपाली, तत्कालीन जिन्सी शाखा प्रमुख सुदिपकुमार भट्टराई, तत्कालीन स्वास्थ्य संयोजक कपिलदेव प्रसाद अधिकारी, श्री माध्यामिक विद्यालय हठ्ठीपुरवाहा, धनुषाका तत्कालीन प्रधानाध्यापक श्रीकृष्ण भिनवार, तत्कालीन सव–इन्जिनियर सरोजकुमार महतो र रेजा ट्रेडिङ्ग प्रालिका प्रोपराइटर एवम् राष्ट्रिय दैनिक रेजा टुडे पत्रिकाका प्रकाशक अकबर मंसुरविरुद्ध १३ लाख ९३ हजार ६८७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

स्यानिटरी प्याड खरिदका लागि २०७७ फागुन १९ मा रेजा ट्रेडिङ्ग प्रालिसँग सम्झौता भएकोमा उक्त खरिद सम्झौता गर्नु अघि नै २०७७ फागुन १३ मा भुक्तानी गरेको, शिलबन्दी दरभाउपत्र आह्वानको सूचनामा स्यानिटरी प्याडको आवश्यक सङ्ख्या नखुलेको तर सम्झौता अगावै र कही कतै सङ्ख्या स्पष्ट नहुँदै रेजा ट्रेडिङ्ग प्रालिले आपूर्ति गरेको देखिएको आयोगले जनाएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा उनीहरुविरुद्ध सजायको मागदाबी लिइएको आयोगले जनाएको छ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ६ : ०६ बजे