९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

सुदूरपश्चिम सरकार निमार्ण रोचक बन्दै,मुख्यमन्त्रीमा एकै पार्टीका दुई सांसदको दाबी



धनगढी । सुदूरपश्चिममा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) को समर्थनमा नागरिक उन्मुक्ति रेशमलाल चौधरी पक्षका लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गरेका छन् ।
प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर उनले आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् । प्रदेश प्रमुखले दिएको १० दिने समय सीमा आइतबार साँझ ५ बजे सकिनै लाग्दा लक्ष्मण किशोरले मुख्यमन्त्रीमा दाबेदारी गरे ।
एकीकृत समाजवादीलाई दिने भनिएको मुख्यमन्त्री पद अन्तिममा उन्मुक्तिको रञ्जिता पक्षलाई दिने सहमति काठमाडौँमा शीर्ष नेताबिच भएपछि समाजवादीले रेशमलाल निकट लक्ष्मण किशोरलाई समर्थन गरेको हो।

नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रम धामीले आफूहरूले आजै मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई अनुरोध गरेको बताए।

मुख्यमन्त्रीमा दाबी गर्नुभएको चौधरीले आवश्यक बहुमत सङ्ख्या जुटाएर आफूले प्रदेश प्रमुखलाई दाबेदारी प्रस्तुत गरेको बताए। उनका पक्षमा कांग्रेसका १८, उन्मुक्तिका चार, साजवादीका चार र राप्रपा १ गरेर २७ जना प्रदेश सभा सदस्य छन्।

५३ सदस्यीय प्रदेश सभामा हाल ५१ जना कायम रहेका छन्। दाबेदारी प्रस्तुत गर्दा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य भने अनुपस्थित थिए।

विश्वासको मत नपाउने भएपछि नेपाली कांग्रेसका दलका नेता कमलबहादुर शाहले चैत २२ गते पदबाट राजीनामा दिएका दिनुभएको थियो। मुख्यमन्त्री शाहले राजीनामापछि प्रदेश प्रमुखले १० दिने समय दिएर चैत २३ गते नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न आह्वान गरे । यता अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षबाट सो पार्टी प्रदेश सभा सदस्य कैलाश चौधरीले पनि मुख्यमन्त्री पदमा दाबेदारी प्रस्तुत गरेका थिए ।
चौधरीले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र ), नागरिक उन्मुक्ति र स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गरेका हुन् ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ५ : ५३ बजे