चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा पौष ११ देखि सुरु हुने चितवन हात्ती तथा पर्यटन महोत्सवको तयारी तीब्र पारिएको छ ।
क्षेत्रीय होटेल संघ चितवन सौराहाको आयोजनामा महोत्सवको १८औँ संस्करण बाघ मारा मध्यवर्ती सामुदायिक वनको चौरमा हुँदै छ ।
चितवनको पर्यटन विकासका लागि सौराहामा हरेक बर्ष हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको छ । रत्न नगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्ने तय भएको छ ।
हात्ती महोत्सव अन्तर्गत हात्तीको श्रृंगार, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुंगोदौड प्रतियोगिता, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तरक्रिया कार्यक्रम हुने कार्यक्रम संयोजक रामकुमार अर्यालले जानकारी दिनुभयो । उल्लेखित विभिन्न गतिविधिमा सरकारी र निजी गरी करिब ८० वटा हात्ती सहभागी हुने जनाइएको छ । हात्ती तथा पर्यटन महोत्सव नजिकिँदै गर्दा व्यवसायीहरूले सौराहालाई सिँगार्न थालेका छन् ।
सौराहाका मुख्य बजारहरूलाई आकर्षण बनाउने र होटेल तथा रेष्टुरेन्टहरुलाई समेत सिँगार्न सुरु भइसकेको छ ।





