काठमाडौं । सामाजिक सुरक्षा कोषले एक खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको छ । कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले योगदानकर्ताबाट जम्मा भएको ९५ अर्बसहित १२६ अर्ब रुपैयाँ विभिन्न ठाउँमा लगानी गरिएको जानकारी दिए ।
बिहीबार ९मंसिर ११० आठौँ सामाजिक सुरक्षा कोष दिवसका अवसरमा बोल्दै उनले कार्यविधिबमोजिङ मुद्दती खातादेखि विभिन्न ऋणपत्रमा लगानी गरिएको बताए ।
कार्यकारी निर्देशक अधिकारीका अनुसार, ५८ अर्ब ८९ करोड बैंकका विभिन्न मुद्दतीमा लगानी गरिएको छ । ३२ अर्ब १९ करोड ट्रेजरी बिलमा, २१ अर्ब ७६ करोड विकास ऋणपत्रमा, चार अर्ब ५२ करोड डिबेन्चरमा, एक अर्ब ९५ करोड म्युचुअल फन्डमा लगानी गरिएको छ ।
यस्तै, कोषले २० हजार योगदानकर्तालाई सापटीबापत सात अर्ब ७९ करोड ८३ लाख रुपैयाँ रकम लगानी गरेको छ । योगदानकर्ता सापटीअन्तर्गत कोषले वार्षिक ५।२ प्रतिशत ब्याजदरमा विशेष सापटी दिने गरेको छ । ५।८६ प्रतिशत ब्याजदरमा घर तथा शैक्षिक सापटी दिइने अधिकारीले बताए ।
कोषमा श्रमिकको आबद्धताका निम्ति ११४ पालिकासँग ‘एमओयू’ गरिएको उनले बताए । केही पालिकाले योगदान रकम जम्मा गर्न थालिसकेको उनको भनाइ छ ।





