११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

बर्खा सम्झाउदै बालेन – जोखिम अन्त्य गर्न नदीकिनारका बस्ती स्थानान्तरण अनिवार्य



काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र साह (बालेन) ले काठमाडौँका नदीकिनारमा बसोबास गर्दै आएका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।
उनले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको धारणा अनुसार हरेक वर्ष दोहोरिने बाढीको जोखिम अन्त्य गर्न अब ढिलाइ गर्न नहुने बताएका हुन्।

उनले बाढीका कारण प्रत्येक वर्ष हजारौँ नागरिकले ज्यान जोगाउन मात्र सफल भई आफ्नो घरबार छोड्नुपर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गर्दै यो दीर्घकालीन समस्यालाई अब थाती राख्न नहुने बताए।

जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित आवासमा व्यवस्थित गर्नु राज्यको जिम्मेवारी भएको उनको भनाइ छ।

प्रधानमन्त्रीले नदीकिनारका बस्तीका कारण ढल निकास प्रणाली निर्माणमा अवरोध पुगिरहेको र उपत्यकाको सरसफाइ तथा नदी–खोलाको वातावरण प्रभावित भइरहेको पनि उल्लेख गरेका छन्।

स्थानान्तरणपछि ढल व्यवस्थापन सहज हुने र शहरी वातावरण सुधार हुने उनको धारणा छ।

थापाथली, गैरीगाउँ, मनोहरा लगायतका जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई बल प्रयोग नगरी मानवीय तरिकाले स्थानान्तरण गर्नुपर्नेमा उनले जोड दिए।

उनले नागरिकलाई जोखिमयुक्त स्थानमा राखिराख्नु अधिकार नभई सुरक्षित आवासमा बस्न पाउनु नै मौलिक अधिकार भएको बताएका छन्।

उनका अनुसार सरकार सुकुम्बासी व्यवस्थापन तथा सरकारी जग्गा अतिक्रमण नियन्त्रणका लागि तयारीमा छ।

वास्तविक सुकुमवासीसीको पहिचान गरी प्रक्रिया पूरा गरेर सुरक्षित रूपमा जग्गा तथा बसोबासको व्यवस्था गर्ने योजना अघि बढाइने पनि उनले उल्लेख गरे।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ६ : ३३ बजे