काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सार्वजनिक निकायका बैठक तथा छलफलहरूमा प्रस्तुत गरिने अभिव्यक्ति मर्यादित हुनुपर्ने बताएका छन्।बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले कर्मचारीहरूको निष्ठा र संस्थाको गरिमामा आँच आउने गरी हुने टिप्पणीप्रति असन्तुष्टि व्यक्त गरे।महानिरीक्षक कार्कीले वर्षौंदेखि इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गरिरहेका व्यक्तिहरूलाई बिना आधार जथाभावी आरोप लगाउने प्रवृत्तिले कार्यसम्पादनमा असर पुग्ने बताए।सो क्रममा उनले प्रहरी प्रशासनमाथि पर्ने विभिन्न उजुरी र निवेदनहरूको सन्दर्भ उल्लेख गर्दै सबै विषयलाई एउटै दृष्टिकोणले हेर्न नहुने धारणा राखे।
जिम्मेवार ठाउँमा बसेर बोलिने शब्द र व्यवहारमा संवेदनशीलता अपनाउनुपर्ने उल्लेख गर्दै उनले तथ्यहीन आरोपले कर्मचारीहरूको मनोबल गिराउन सक्ने भन्दै सचेत गराए।
महानिरीक्षक कार्कीले भने, ‘आजसम्म निष्ठापूर्ण काम गर्या मान्छेलाई ल्याएर अब यहाँ ल्याएर जे मन लाग्यो त्यही भन्या छ। जे मन लाग्यो त्यही भन्ने स्थान होइन होला त कुनै पनि ठाउँको एउटा सामान्य मर्यादा त हुन्छ होला नि। एउटा त्यो पनि मैले भन्दैछु। त्यसैले अलिकति हाम्रा पनि निवेदन परेका छन् नि। सबैका पर्या निवेदन यस्तै गरी आउँदा खेरि गारै पर्छ। अब म पनि सोच्दै छु, ल्याउँ कि क्या हो।’
महानिरीक्षक कार्कीले छलफलका क्रममा शिष्टता कायम राख्न र संस्थागत मर्यादालाई आत्मसात गर्न संवद्ध पक्षको ध्यानाकर्षण समेत गराए।
बैठकमा सांसद खगेन्द्र सुनार लगायतका सांसदहरूले नेपाल प्रहरीमाथि आरोप लगाएका थिए।





