काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारका विषयमा संसदीय छानबिन हुनुपर्ने बताएकी छन् ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले सांसद सुनारको अडियो प्रकरणप्रति गम्भीर आपत्ति जनाइन् ।
यस विषयमा सम्बन्धित राजनीतिक दलले मात्र नभई संसद्बाटै पनि गम्भीरतापूर्वक छानबिन गरिनुपर्ने बताइन् ।
सम्बन्धित व्यक्ति दोषी ठहरिएमा कानुनअनुसार कडाभन्दा कडा कारबाही गरिनुपर्ने उनको भनाइ छ । उनले सार्वजनिक व्यक्तित्वहरू निश्चित मर्यादा, आचरण र जवाफदेहिताभित्र रहेर एक सेवकको रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिइन् ।
उनले शक्ति प्रयोग गरेर अरूमाथि अवाञ्छित गतिविधि गर्न कसैलाई पनि छुट नहुने समेत बताइन् ।





