विराटनगर । नेपाली कांग्रेस कोसी संसदीय दलका सांसदहरू सरकारले सदनमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको बैठकमा सहभागी हुने भएका छन् ।
अदालतमा विचारधीन मुद्दामा दलले प्रस्तुत गर्दै आएको धारणा र दृष्टिकोणलाई कायम राख्दै बैठकमा सहभागी हुने औपचारिक निर्णय गरेको छ ।
सोमबार दलले पत्रकार सम्मेलन गरी संसदीय पद्धति र प्रणालीबाट नै समस्याको समाधान खोज्ने र जनताका आवाजहरू मुखरित गर्न निष्कर्ष निकाल्दै प्रदेशसभा बैठकमा सहभागी हुने तय भएको दलका नेता उद्धव थापाले बताए ।
कोसी प्रदेश सरकार गठन प्रक्रिया असंवैधानिक भएको भन्ने नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलले प्रस्तुत गर्दै आएको धारणा यथावत् रहेको थापाले बताए । बैठकमा कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले नीति तथा कार्यक्रमको छलफलमा कांग्रेस सांसद सहभागी हुने बताए ।
सरकार गठनसँग सम्बन्धित विषयको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।